Breaking News

निर्मला हत्या प्रकरण: एसपी बिष्ट र प्रहरी निरीक्षक भट्ट सेवाबाट बर्खास्त

काठमाण्डौ, ८ कार्तिक ।

निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरबाही गरेको ठहर गर्दै सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी उपरिक्षक एसपी दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको छ ।

दुबै जनासँग लिइएको स्पष्टिकरणमा चित्त नबुझेपछि गृहमन्त्रालयले बिष्ट र भट्टलाई सेवाबाट बर्खास्त गरेको हो । तर उनीहरू भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि गृहमन्त्रालयले दोस्रो पटक सोधेको स्पष्टिकरणको जवाफ एसपी बिष्टले बिहीबार नै प्रहरी प्रधान कार्यालयम बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले जवाफ चित्त नबुझेपछि बर्खास्त गर्न गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रहरी ऐनमा निरीक्षक देखि उपरिक्षकसम्मलाई प्रहरी महानिरीक्षकको सिफारिसमा गृहसचिवले बर्खास्त गर्ने व्यवस्था छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

shares