Breaking News

पोखरा प्रिमियर लिग भोलिदेखि, सम्पूर्ण तयारी पूरा

पोखरा, ८ कार्तिक ।

पर्यटकीय नगरी पोखरामा भोलिदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

केही समयअघिसम्म जीर्ण रहेको पोखरा रंगशालाको मैदानलाई भारतबाट क्यूरेटर झिकाएर पिच बनाउने कार्य सकिएको छ । यस्तै दर्शक दिर्घाका लागि प्यारापिट निर्माणको काम पनि सकिएको छ ।

आयोजकले प्रतियोगिताका लागि प्राविधिक तथा ब्यवस्थापकीय सम्पूर्ण तयारी सकिएको जानकारी गराएको छ । प्रतियोगितामा सहभागी हुन देशका मुख्य ६ वटै टिम पोखरा आइसकेका छन् भने पोखरामा दर्शकहरूको उपस्थिति र चहलपहल बढ्दो अवस्थामा छ ।

अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलाडीसहितको सहभागितामा हुने प्रतियोगिताले क्रिकेट खेल र पोखराको पर्यटनलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काले सबै क्रिकेट प्रेमीलाई प्रतियोगिता हेर्नका लागि आव्हान गरेका छन् ।

प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो । उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । क्रिकेट प्रतियोगितामा तीनवटा मोटरसाइकल प्रदान गरिन लागेको पनि यो पहिलो अवसर हो ।

प्रतियोगितामा पोखरा पल्टन, चितवन राइनोज, विराटनगर टाइटन, काठमाडौं रोयल्स, बुटवल व्लास्टर्स र धनगढी व्लुज सहभागी छन् । प्रतियोगिताका सबै खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

shares