Breaking News

चारवटा मिनरल वाटर उद्योगमा शीलबन्दी

काठमाण्डौ, ८ कार्तिक ।

सरकारले काठमाडौंमा रहेका चारवटा मिनरल वाटर उद्योगमा शीलबन्दी गरेको छ ।

बिहीबार अनुगमनको क्रममा मापदण्ड विपरीत प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि काठमाडौंको विभिन्न स्थानमा रहेका स्नो ब्रेभरेज प्रालि, कञ्चनजंगा मिनरल वाटर उद्योग, अक्वा मिनरल वाटर उद्योग र सिटी मिनरल वाटर प्रालिमा शीलबन्दी गरेको हो ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिका विपरीत संचालनमा रहेका चारवटै मिनरल वाटर उद्योगमा पानी उत्पादन गर्न रोक लगाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए ।

अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधिसम्मत ढंगले संचालनमा नरहेका पानी उद्योगहरूलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ ।

सचिव जिसीले उद्योगमा दर्तासमेत नगरेका मिनरल वाटर उद्योगहरूलाई प्रक्रिया पूरा गरेर मात्रै पीउने पानी उत्पादन गर्न सचेत गराइएको पनि स्पष्ट पारे । उनले तोकिएको मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गर्ने कम्पनीमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोली लिएर आफैं मिनरल वाटर उद्योगको अनुगमनमा निस्किएका सचिव जिसीले सरकारले मानव स्वास्थ्यमाथि खेलवाड हुने गरी खाद्य वस्तु उत्पादन गर्ने कुनै पनि उद्योगलाई कार्वाहीको दायरामा ल्याउने पनि स्पष्ट पारे ।

सरकारले यस वर्ष खाद्य वस्तुको स्वच्छता कायम गर्न खाद्य स्वच्छता अभियान नै संचालन गरेको छ ।

shares