Breaking News

हाँडीगाउँको जात्रा आजबाट सुरु

काठमाण्डौ, ८ कार्तिक ।

काठमाण्डौको हाँडीगाउँमा आजबाट विधिवत् रूपमा हाँडीगाउँको जात्रा सुरु भएको छ ।

कोजाग्रत पूर्णिमाको भोलिपल्ट देखि ३ दिनसम्म यो जात्रा मनाउने परम्परा रहिअाएको छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाण्डौका अन्य जात्राभन्दा पृथक हुन्छ ।

रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्ति माथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ । साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ । यसरी फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनिएको स्थानीय बताउँछन् ।

जात्रामा निकालिएका तीनवटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । साथै रथ सजाउन प्रयोग भएको मैनको बास्नादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भीड हुने गर्दछ । यो फूललाई प्रसूतिपीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वाश गरिन्छ ।

shares