Breaking News

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

काठमाण्डौ, ८ कार्तिक ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै यादवले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीतिबारे जानकारी दिए ।

जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य हासिल गर्न सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

जलविद्युत्, पूर्वाधार, पर्यटन, कृषि, खनिज तथा खनिजजन्य उद्योगबाट प्रचुरमात्रामा प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न मन्त्री यादवले अनुरोध गरे ।

बुधबार नै मन्त्री यादवले व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रिसङ्घीय सम्मेलन (UNCTAD) का महासचिव मुखिसा किटुवीलाई भेटेर नेपालको उद्यमशीलता विकास, साना तथा मझौला उद्योगको प्रवर्द्धनमा प्राविधिक सहायता बढाउन आग्रह गरे ।

shares