Breaking News

आईसीसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने

काठमाण्डौ, ८ कार्तिक ।

अर्को वर्ष इङ्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइने भएको छ ।

ट्रफीलाई विभिन्न राष्ट्रको परिक्रमा गराउने क्रममा बंगलादेशबाट शुक्रबार साँझ नेपाल ल्याइने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् ।

चार दिन नेपालमा रहने ट्रफी शुक्रबार नै स्वयम्भु परिक्रमा गराएर शनिबार पोखराको फेवाताल र क्रिकेट मैदानमा राखिनेछ । पिपिएलका लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ति पोखरामा रहेकाले त्यहाँ लैजान लागिएको हो ।

त्यस्तै, आईतबार ट्रफीलाई चन्द्रागिरीमा प्रदर्शनीमा राखिनेछ । त्यही दिन सर्वसाधारण क्रिकेट प्रेमीका लागि बसन्तपुरमा ट्रफी प्रदर्शनी गर्ने कार्यक्रम छ । नेपालको चार दिने भ्रमणपछि ट्रफी दुवई लगिनेछ ।

आईसीसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी पहिलो पटक नेपालमा ल्याउन लागेको हो । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको हो ।

विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिनेछ ।

shares