Breaking News

कोहलीद्वारा तेन्डुलकरको नाममा रहेको १७ वर्ष पुरानो कीर्तिमान भंग

काठमाण्डौ, ७ कार्तिक ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको १७ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।

कोहलीले विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध दोस्रो वान डे खेल्ने क्रममा सबैभन्दा चाँडो १० हजार रन बनाउँदै सचिनको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । २ सय ५औं वान डे खेल्ने क्रममा वेस्ट इन्डिजविरुद्ध ८१ र न प्रहार गर्दै उनले सबैभन्दा चाँडो १० हजार रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

वेष्ट इन्डिज विरुद्धको पहिलो वानडेमा खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बलमा १ रन बनाउँदै वान डे इन्टरनेशनलमा दश हजार रन पूरा गरे । कोहलीले दश हजार रन बनाउने क्रममा ३७ शतक र ४८ अर्धशतक बनाइसकेका छन् ।

यसअघि, सन् २ हजार १ मार्चमा इन्दोरमा सम्पन्न अस्ट्रेलियाविरुद्धको खेलमा सचिनले २ सय ५९औं इनिङ खेल्दै दश हजार रन पूरा गरेका थिए । त्यसयता अन्य ११ ब्याट्सम्यानले १० हजार रन बनाइसके पनि सबैभन्दा छिटो दश हजार रन बनाउने कीर्तिमान सचिनकै नाममा थियो ।

यससँगै कोहली १० हजार रन पूरा गर्ने पाँचौं भारतीय खेलाडी बनेका छन् । सचिनसँगै भारतका अन्य तीन कप्तान सौरभ गांगुली, राहुल ड्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पूरा गरेका छन् ।

shares