Breaking News

निलम्बित एसपी विष्टले दिए स्पष्टीकरण, आफूले लापरबाही नगरेको दाबी

काठमाण्डौ, ७ कार्तिक ।

कञ्चनपुरकाे तत्कालीन निलम्बित एसपी डिल्लीराज विष्टले अाज प्रहरी प्रधान कार्यालयमा सफाइ दिएका छन् ।

मंगलबार स्पष्टीकरण साेधिएकाे पत्र बुझेका विष्टले त्यसकाे २४ घण्टाभित्रै बुधबार प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण पत्रमार्फत जवाफ दिएका छन् । प्रहरी प्रधान कार्यालयकाे स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरबाही नगरेको दाबी गरेका छन् ।

बिष्टकाे स्पष्टीकरण जस्ताको तस्तै गृह मन्त्रालय पठाइएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टसँग स्पष्टीकरण लिइएकाे हाे । गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीका अनुसार अाज प्राप्त सफाइ पत्रमा अधिकार प्राप्त अधिकारीलाई चित नबुझे त्यसपछि फेरि स्पष्टीकरण साेधिने कानुनी व्यवस्था छ ।

छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरबाही देखाएपछि विष्ट र निरीक्षक जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको प्रहरीले जनाएकाे छ । प्रहरी स्रोतका अनुसार स्पष्टीकरणमार्फत चित्तबुझ्दो जवाफ नआएकाेले दुवै जनालाई बर्खास्त गर्ने गृहको तयारी छ ।

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्राप्त प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले विष्टमाथि छानबिन थालेको थियो । प्रहरी प्रधान कार्यालयले विष्टले नियतवश प्रमाण नष्ट गरेको भन्दै प्रहरी नियमावली अनुसार बर्खास्तीका लागि गृह मन्त्रालयमा पत्र पठाएको हाे ।

shares