Breaking News

रेल निर्माण सम्पन्न भएसंगै स्थानीय बजार सस्तो हुने

काठमाण्डौ, ७ कार्तिक ।

जनकपुर-जयनगर रेलको निर्माण सम्पन्न भएसंगै स्थानीय बजार सस्तो हुने भएको छ ।

नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म चल्ने नयाँ रेल्वे सेवा सुरु भएसंगै माल सामान ढुवानीको लागत घट्न जाने हुँदा बजार सस्तो हुने भएको हो । भारत सरकारको अनुदान सहयोगमा नेपालको ५ वटा नाकाहरूमा रेल्वेको अन्तरदेशीय लाइन निर्माण भइरहेका छन् ।

पहिलो चरणमा जोगबनी बिराटनगर र जनकपुर बर्दिबासको निर्माणको काम भैरहेको छ । भारत सरकारको ५ सय करोड बढीको अनुदान सहयोगमा जयनगर–जनकपुर–बर्दिबास रेल्वे ट्रयाक निर्माणको काम भइरहेको छ । आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न हुन लागेको यो आयोजनामा नेपाली निर्माण कम्पनीहरूले पनि काम गरिरहेका छन् । रेल्वे विभागका प्रवक्ता अमन चित्रकारले जनकपुर जयनगर रेल निर्माण भई संचालन हुदा नेपाललाई महँगी नियन्त्रणसंगै निर्माण प्रविधि र शीप हासिल हुने बताए । साथै यसले नेपाली यातायात तथा पारवहनमा ठुलो परिवर्तन ल्याउने विश्वास पनि उनले व्यक्त गरे ।

भारत सरकारको मुख्य निर्माण कर्ता इरिकोन कम्पनीसंगै काम गरिरहेको रमण कन्स्ट्रक्सनले आगामी दिनमा रेल्वे सम्बन्धी निर्माणका लागि आफूहरू तयार रहेको बताएको छ । जयनगर बर्दिबास खण्डको ट्रयाक निर्माणको काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले भारतीय कम्पनी इरिकोनसंग मिलेर गरिरहेको छ । नेपाली निर्माण कम्पनिसंग यस अघि रेल्वे ट्रयाक निर्माणमा अनुभव थिएन । यो संगै नेपाली निर्माण कम्पनी पनि रेल्वे सम्बन्धी निर्माण गर्न सक्षम भएको रमण कन्स्ट्रक्सनका निर्देशक रमण महतोले बताए ।

भारतको जयनगरदेखि महोत्तरीको कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन, आवास निर्माण पनि अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर–बर्दिवास ६९ किलोमिटरको ब्रोडगेज सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई गत अशोज २६ गते मालबाहक रेल गुडाएर परिक्षण गरिएको थियो । रमण कन्स्ट्रक्सनले भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ब्लास्ट बोकेको ५३ वटा डब्बा रेलको माध्यमबाट नै ल्याएको छ ।

shares