Breaking News

खशोग्गीको हत्या नियोजित भएको टर्कीको दाबी

काठमाण्डौ, ६ कार्तिक ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्गीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका छन् ।

उनले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्जीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दाबी गरे ।

उनले खशोग्गीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका संदिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरे ।

खशोग्गीको शव कहाँ छ र उनको ज्यानलिने गरी भएको कार्वाहीको आदेश कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने जिकिर गरे ।

उता साउदी अरबले भने ५९ वर्षीय खशोग्गीको मृत्यु वाणिज्यदूतावासभित्र पिटापिटका क्रममा भएको बताएको छ । उसले युवराज मोहम्मद बिन सलमानको निर्देशनबिना सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको छ ।

वाशिंगटन पोस्ट पत्रिकाका स्तम्भकारको हत्याका निन्दा गर्दै विश्वभरीबाट घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग भइरहेको छ ।

shares