Breaking News

संघीय सरकारलाई ओभरटेक गर्न खोजे दुर्घटना हुन्छ: दाहाल

जनकपुरधाम, ६ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संघीय ऐन नआउँदै प्रदेश प्रहरी ऐन ल्याएर प्रदेश सरकारले संघीय सरकारलाई ओभरटेक गर्न खोजेको आरोप लगाएका छन् ।

अध्यक्ष दाहालले प्रदेश सरकारको यस्तो कदमले पाइसकेको अधिकार गुम्ने खतरा रहेको दाबी गरे । जनकपुरमा नेकपाको प्रदेश कार्यालयको उद्घाटन र विजया दशमी, दिपावली र छठ पर्वको शुभकामना दिंदै अध्यक्ष दहालले संविधान परिमार्जन गरी देश विकास गरी समृद्धिको चाहना पूरा गर्ने अबको एक मात्र लक्ष्य रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओली, आफू र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच संविधान संशोधन गर्ने समझदारी भएकोले उपयुक्त समयमा संविधान संशोधन गर्ने दहालले आश्वस्त तुल्याए ।

मधेशको अधिकार र पहिचानको मुद्दामा आफू संवेदनशील रहेको अध्यक्ष दाहालको दाबी थियो । नेकपाका महासचिब विष्णु पौडेलले संघीय सरकारसित शत्रुता मोलेर प्रदेशको विकास नहुने भन्दै प्रदेश सरकारलाई प्रदेशको समृद्धि र विकासमा ध्यान दिन सुझाए ।

शुभकामना दिंदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले चार महिनासम्म कुर्दा समेत संघीय प्रहरी ऐन नआएको र संघीय प्रहरी प्रदेश सरकारप्रति जिम्मेवार नरहेकोले बाध्यतावश प्रदेश प्रहरी ऐन ल्याएको प्रष्ट्याए ।

कार्यक्रममा संघीय सरकारका मन्त्री रघुबीर महासेठ, नेपाली काँग्रेस प्रदेश नं २ का संसदीय दलका नेता लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

shares