Breaking News

पीपीएलका लागि धनगढी ब्लुजद्वारा १८ सदस्यीय टिम घोषणा

काठमाण्डौ, ६ कार्तिक ।

शुक्रबारदेखि हुने पोखरा प्रिमियर लिग पीपीएल टि ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि धनगढी ब्लुजले १८ सदस्यीय टिम घोषणा गरेको छ ।

काठमाडौंमा आज एक कार्यक्रमकाबीच धनगढीले मार्की प्लेयर दिपेन्द्र सिंह ऐरी, अक्सनबाट छानिएका १३, दुई आइकनिक र दुई विदेशी खेलाडी सार्वजनिक गरेको हो ।

प्रतियोगिताका लागि धनगढीले इङ्ल्याण्डका दुई खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । धनगढीले इङ्ल्याण्डका ड्यान विलियम लरेन्स र पिटर डेभिड ट्रेगोलाई टोलीमा भित्र्याएको हो । दुवै खेलाडी आज साँझसम्म नेपाल आइसक्ने टोलीका निर्देशक सुवाष प्रधानले जानकारी दिए ।

त्यस्तै, धनगढीले आइकनिक खेलाडीको रूपमा यू १९ टोलीका सुबेन्दु पाण्डे र अरुण सिंह ऐरीलाई अनुबन्ध गरेको छ । तर टोलीले कप्तान भने पोखरा गएपछि मात्र छनोट गर्ने निर्देशक प्रधानले बताए । छोटो समयमा तयारी गरेको भन्दै उनले धनगढी ब्लुज युवा खेलाडीले भरिएको बताए ।

मानसिकरूपमा खेलाडी तयार रहेको र उपाधि जित्ने लक्ष्यका साथ टिम भाेलि नै पोखरा जाने टोलीका प्रशिक्षक मनोज कटुवालले बताए । यसैबीच, धनगढी ब्लुजले उपाधि जितेमा ४ जना खेलाडीलाई एक्सपोजरका लागि अष्टेलियामा लगिने टिम मालिक एक्सपर्ट एजुकेशनका सञ्जिव शर्माले बताए ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिकाे अायाेजनामा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता आगामी कार्तिक २० सम्म चल्नेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।

shares