Breaking News

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा, ६ कार्तिक ।

पर्यटकीय नगरी पोखरामा आगामी ९ गतेदेखि सुरु हुन लागेको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

माछापुच्छ्रेको काखमा रहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा आगामी २१ गतेसम्म चल्ने प्रतियोगिताको लागि अधिकांश काम पूरा भइसकेका छन । मैदान मर्मत, पिच निर्माण, प्याराफिट निर्माण लगायतका काम लगभग पुरा भइसकेको छ ।

बाँकी केही काम पूरा गर्न कामदारहरू मैदानमा खटिएका छन् । प्रतियोगिता संचालनका लागि आवश्यक सामाग्री एक दुई दिनभित्रै आउने र खेल संचालन गरिने आयोजक क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए ।

देशका मुख्य ६ शहरका टिम उपाधिका लागि भिड्ने पोखरा प्रिमियर लिगमा हरेक टिमवाट दुई दुई जना विदेशी खेलाडीसमेत सहभागी हुनेछन् । अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलाडिसहितको सहभागितामा हुने प्रतियोगिताले क्रिकेट खेल र पोखराको पर्यटनलाई थप उचाईमा पुर्‍याउने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खडकाको विश्वास छ ।

घरेलु प्रतियोगिताको ईतिहासमा अहिलेसम्मकै सर्वाधिक ठूलो पुरस्कार राशीको प्रतियोगितामा देशका मुख्य शहरबाट ६ समूहको सहभागिता रहनेछ । प्रतियोगितामा पोखरा पल्टन, चितवन राईनोज, विराटनगर टाईटन, काठमाडौं रोयल्स, बुटवल व्लाष्टर्स र धनगढी व्लुज उपाधिका लागि भिड्नेछन् ।

पोखरा प्रिमियर क्रिकेट प्रतियोगितालाई अन्तराष्ट्रिय क्रिकेट संस्था आईसीसीले पनि मान्यता दिएको छ ।

shares