Breaking News

७७९ यातायात साधन कारबाहीमा

नुवाकोट, ६ कार्तिक । 

तोकिएको भन्दा बढी भाडा बढी लिने ९ सवारी साधन र कागजपत्रबिना नै चलाउने ७७९ सवारी साधनलाई नुवाकोट ट्राफिकले कारबाही गरेको छ । बढी भाडा लिने नौ यातायातलाई कारबाही गरी यात्रुको भाडा फिर्ता गराइएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

बडादशैँका अवसरमा यातायात व्यवसायीले यात्रुलाई बढी भाडा लिने र यात्रा गर्दा पर्ने समस्यालाई ध्यानमा राखी जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जिल्लाका विभिन्न ठाउँमा सवारी साधन जाँचमा कडाइ गरेको हो ।

फूलपातीदेखि नुवाकोट ट्राफिक कार्यालयले दशैं मनाउन घर फर्कने र दशैँ मनाएर काठमाडौं फर्कने यात्रुसँग नुवाकोटका यातायात व्यवसायीले मनपरी एकलौटी ढङ्गले भाडा लिई यात्रुलाई ठगी गर्ने बस र माइक्रोबसलाई जाँच गरी बढी भाडा लिने यातायातलाई कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयले एक हप्तामा रु ६ लाख ६६ हजार राजश्व पनि उठाएको छ ।

shares