Breaking News

रुस र चीनलाई अमेरिकाको चेतावनी

काठमाण्डौ, ६ कार्तिक ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनमाथि दबाब बढाउन अमेरिकाले आफ्नो पारमाणविक अस्त्र भण्डार सुदृढ पार्ने चेतावनी दिएका छन् ।

पत्रकारहरूसँग ट्रम्पले मध्यम दूरीको पारमाणविक क्षेप्यास्त्रसम्बन्धी आईएनएफ सन्धिको रुसले उल्लङ्घन गरेको दोहोर्‍याए । रुसले सन्धिकाे पालना नगरेकाले अमेरिका अलग हुन लागेकाे ट्रम्पकाे भनाइ छ ।

रुसले आईएनएफ सन्धिको उल्लङ्घन गरेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। शीतयुद्धकालीन सन्धिले मध्यम दूरीको क्षेप्यास्त्र विकासमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले थप अस्त्रहरूको विकास गरेमा आफूले त्यसको उचित जवाफ दिने रुसले चेतावनी दिएको छ । यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले आईएनएफ सन्धिबाट अलग्गिने आफ्नो देशको योजनाको रुसले भर्त्सना गरेपछि मस्कोमा त्यसबारे वार्ता गरिरहेका छन् ।

सन्धिबाट अमेरिकी बहिर्गमन अस्त्र अप्रसारको पक्षमा रहेका मुलुकहरूका लागि एउटा ‘गम्भीर झट्का’ हुने बोल्टनलाई भनिएको छ । रुसी सुरक्षा परिषद्‌का सचिवले आईएनएफ सन्धि बारेका ‘आपसी’ मनोमालिन्य हटाउनका निम्ति अमेरिकासँग मिलेर काम गर्न अाफूहरू तयार रहेको बताएका छन् ।

shares