Breaking News

मदिराको झोकमा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

दैलेख, ५ कार्तिक ।

मदिराको झोकमा श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख नौमूले गाउँपालिका– ४ का ५१ वर्षीया शेर बहादुर पुन रहेको छ । पुनले कात्तिक २ गते राती आफ्नै श्रीमती ५३ वर्षीया शान्ति पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिए ।

दशैंको टीकाको दिन बिहानैदेखि श्रीमान् श्रीमती दुवैले मदिरा सेवन गरेको र छिमेकीको घरमा गएर मदिरा सेवन गरी साँझ घर फर्कने क्रममा बाटोमै दुबैजनाबीच झगडा भएको र त्यहीक्रममा ढुंगाले हानेर श्रीमतीको हत्या गरेको पुनले स्वीकार गरेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।

छमेकीको घरमा श्रीमान श्रीमती र छोरासंगै गएको र साँझ परेपछि छोरालाई छिमेकीको घरमा सुताएर आफूहरू घर फिर्ता हुने क्रममा झगडा भएको पक्राउ परेका पुनले बताएको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए  । पुनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

shares