Breaking News

नेकपा बैठकमा नेपालको प्रस्तावमाथि गम्भीर छलफल, नारायणकाजीको राजीनामा अस्वीकृत

काठमाण्डौ, ५ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेता माधवकुमार नेपालले सचिवालय बैठकमा राख्नुभएको असहमतिको प्रस्तावमाथि छलफल गर्दै आगामी दिनमा विधि पद्धतिहरूलाई गम्भीर ध्यान दिंदै अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकमा नेता नेपालको प्रस्तावमाथि गम्भीर छलफल भएको र आगामी दिनमा विधि पद्धतिहरूलाई गम्भीर ध्यान दिंदै अघि बढ्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै यसअघिको सचिवालयको निर्णयलाई कार्यान्वयनमा लाने निर्णय पनि गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । असोजको पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज नै तोकेपछि नेता नेपालले असहमति जनाउँदै लिखित असन्तुष्टि राखेका थिए ।

प्रवक्ता श्रेष्ठले नेता नेपालले राख्नुभएको विषयमा गम्भीर छलफल भएको र आगामी दिनमा विधि र पद्धति अनुसार अगाडि बढ्ने सहमति भएको बताए । त्यस्तै जिल्ला कमिटीको एकीकरण, जनवर्गीय संगठनको एकीकरण सरकार सञ्चालन लगायतका विषयमा छलफल गर्न कार्तिक ७ गते पुनः सचिलवाल बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले पार्टीको केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त जिम्मेवारीबाट दिएको राजीनामा अस्वीकृत गरेको छ ।

shares