Breaking News

काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो छ: कोइराला

विराटनगर, ५ कार्तिक ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै जति सक्दो छिटो पार्टीको महासमितिको बैठक बस्नु पर्नेमा जोड दिए ।

कोइरालाले पार्टीभित्र देखिएका गुटबन्दीले गर्दा निर्वाचनमा पराजयको स्थिति भोग्नुपरेको चर्चा गर्दै पार्टीको पराजयको जिम्मेवारी नेतृत्वले मात्र नभई सबैले लिनुपर्ने बताए ।

सोही अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकार सञ्चालन गर्ने जनादेश पाएको वर्तमान सरकार अलमलमा पर्न नहुने तर्क गरे ।

उनले वर्तमान सरकारको सफलतासँगै राजनीतिक उपलब्धि पनि संस्थागत हुने भएकाले युगान्तकारी परिवर्तन गर्न बनेको संविधान पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

नेता गच्छदारले आगामी निर्वाचनमा सफलता हात पार्न नेपाली काङ्ग्रेस अहिलेदेखि नै जनता र कार्यकर्ता माझ जानसक्ने कार्यक्रम तयार गर्नुपर्ने विचार पनि व्यक्त गरे ।

shares