Breaking News

क्यानडाको पश्चिमी तटीय क्षेत्रमा ६.८ म्याग्नीच्यूडको भूकम्प

वासिंगटन, ५ कात्तिक ।

क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति लगातार चारवटा भूकम्पका धक्का महसूस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरू ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् ।

पहिलो ६.६ म्याग्नीच्यूडको भूकम्प स्थानीय समय अनुसार १० बजेर ३९ मिनेट जाँदा गएको थियो । यो भूकम्पको केन्द्रविन्दु अमेरिकी सियाटलबाट ३५५ किमी उत्तरपश्चिममा रहेको छ ।

दोस्रो ६.८ म्याग्नीच्यूडको भूकम्प एक घण्टापछि अर्थात ११ बजेर १६ मिनेटमा क्यानेडाली सहर पोर्ट हार्डीभन्दा १२२ माइल दक्षिणपश्चिममा गएको थियो ।

त्यसको छ मिनेटपछि ६.५ म्याग्नीच्यूडको भूकम्प पोर्ट हार्डीबाट १३८ माइल दक्षिणपश्चिममा गएको थियो । लगत्तै सोही स्थानमा केही कमजोर ४.९ म्याग्नीच्यूडको भूकम्प गएको पनि अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पबाट धनजनको क्षतिबारेको विवरण भने हालसम्म प्राप्त भएको छैन । साथै भूकम्पका कारण कुनै सुनामीको चेतावनी जारी गरिएको छैन ।

यो क्षेत्र उत्तरी भ्यान्कुभर द्वीपदेखि उत्तरी क्यालिफोर्नियासम्मको क्षेत्रमा फैलिएको विशाल फल्टलाइनमा पर्दछ । -रासस/एएफपी

shares