Breaking News

दशैं बिदामा सर्वोच्चमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट

काठमाण्डौ, ५ कार्तिक ।

दशैं बिदाको समयमा सर्वोच्च अदालतमा ८ वटा बन्दी प्रत्यक्षीकरणका रिट निवेदन दर्ता भएका छन् ।

घटस्थापनाका दिनदेखि सोमबारसम्म सर्वोच्च अदालतमा परेका ८ वटा बन्दी प्रत्यक्षीकरणका रिटमध्ये ४ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएका छन् ।

त्यसैगरी ३ वटा रिट निवेदनका सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएर बन्दीहरू छुटेको सर्वोच्चका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए । साथै एउटा बन्दी प्रत्यक्षीकरणको रिटकोे सम्बन्धमा सोमबार इजलास तोकिएको छ ।

टंक बहादुर खड्काको हकमा सविना खड्काले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सम्बन्धमा आज सोमबारका लागि इजलास तोकिएको कालाखेतीले जानकारी दिए ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी सार्वजनिक बिदा भएमा बन्दी प्रत्यक्षिकरणको मुद्धा हेर्नका लागि पूर्ण इजलासबाट न्यायाधीश तोक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार १५ दिने सार्वजनिक बिदाकै क्रममा परेका बन्दी प्रत्यक्षीकरणका रिट निवेदन हेर्नका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट न्यायाधाीशहरू प्रकाशमान सिंह राउत, विश्वम्भर प्रसाद श्रेष्ठ, केदारप्रसाद चालिसे, दिपकराज जोशी र सपना प्रधान मल्ल तोकिएका थिए ।

shares