Breaking News

पत्रकार जमाल खशोग्गीको हत्यामा एजेन्टहरू जिम्मेवार

काठमाण्डौ, ५ कार्तिक ।

साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको हत्यामा एजेन्टहरू जिम्मेवार भएको बताएको छ ।

साउदी विदेशमन्त्री आदिल अल-जुबैरले पत्रकारकाे हत्या गम्भीर भूल भएकाे भन्दै प्रभावशाली युवराजको निर्देशनमा हत्या गराइएको आरोप भने अस्वीकार गरेका छन् ।

खशोग्गीको शव कहाँ छ भन्ने कुरा आफूहरूलाई थाहा नभएको पनि विदेशमन्त्री अल-जुबैरले बताए । पत्रकार खशोग्गीकाे विषयमा सत्यतथ्य बाहिर ल्याउन साउदी अरेबियामाथि चाैतर्फी दबाब परेकाे छ ।

अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास प्रवेश गरेदेखि खशोग्गी बेपत्ता भएका थिए । शुक्रबार पहिलो पटक उसले वाणिज्य दूतावासका कर्मचारीहरूसँग खशोग्गीको बाझाबाझले उनको मृत्युको घटना निम्त्याएको स्वीकार गर्‍यो।

जर्मनी, फ्रान्स, बेलायत, युरोपेली संघ र संयुक्त राष्ट्रसंघले घटनाबारे पर्याप्त अनुसन्धान गर्न आग्रह गरेका छन् । कैयौँ अमेरिकी सांसदले पनि खशोग्गीको मृत्युबारे साउदी अरेबियाले दिएको विवरणप्रति सन्देह ब्यक्त गरेका छन् ।

अष्ट्रेलियाले यसै महिनाको अन्त्यतिर रियादमा हुने लगानी सम्मेलनमा सहभागी नहुने घोषणा गरेको छ । यसअघि नै अमेरिका, बेलायत, नेदरल्याण्ड्स र फ्रान्सका विदेशमन्त्रीले सम्मेलनमा सहभागी नहुने घोषणा गरिसकेका छन् ।

shares