Breaking News

३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद

काठमाण्डौ, ४ कार्तिक ।

नेपाल प्रहरीले ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गर्दै दशैंको बेला नक्कली नोटको बिगबिगी भएको सूचना पाएपछि चलाएको अपरेशनका क्रममा नक्कली नोट बरामद गरेको जनाएको हो । प्रहरीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक पनि गरेको छ ।

पक्राउ पर्नेमा पर्सा घर भएका मुख्य योजनाकार ईन्द्र बहादुर श्रेष्ठ, गोर्खा घर भएका नारायण श्रेष्ठ, मकवानपुर घर भएका साहिल थापा मगर, पर्सा घर भएका राज श्रेष्ठ र काठमाडौं कागेश्वरी मनहरा घर भएका विकास दोचे रहेका छन् जसमध्ये मुख्य योजनाकार ईन्द्र बहादुर श्रेष्ठले यसअघि हातहतियार तथा खरखजाना मुद्धामा ११ महिना कैद सजाय भुक्तान गरिसकेका छन् ।

उनीहरूलाई प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार राति मच्छेगाँउबाट पक्राउ गरेको हो । कोठा लिएर कारखाना नै खोली नक्कली नोट छाप्ने गरेको परिसरका प्रमुख एसएसपी वसन्त कुमार लामाले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट नक्कली नोट छाप्ने मेसिन, नक्कली नोटको लागि आवश्यक कागज र नक्कली नोट बरामद गरेको छ ।

दशैंको समयमा प्रायः नयाँ नोट चलनमा हुने भएकोले नक्कली नोटका कारोबारीहरू यही समयमा सक्रिय हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए । उनले केही नोटहरू बजारमा गइसकेको हुनसक्ने भएकाले थप अनुसन्धान जारी रहेको जानकारी पनि दिए ।

पक्राउ गरेकाका साथबाट नक्कली पैसा बनाउन प्रयोग भएका सक्कली एक हजारका तीन थान, रु एक सयको तीन थान तथा गोर्खा फाईनान्सको ट्याग भएको पैसा बण्डल बनाउन प्रयोग कागज र एनआईसी बैंकको नक्कली चेक समेत बरामद गरिएको छ । नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

shares