Breaking News

दशैंमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले, भन्छन्- दशैं खल्लो भयो

बाजुरा, ४ कात्तिक ।

बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि दशैँमा पनि ज्येष्ठ नागरिकको हात खाली भएको छ । दशैँमा पनि सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँ खल्लो महसूस गरेका छन् ।

हरेक वर्ष दशैँको बेलामा प्रथम चौमासिक भत्ता दिइने गरिएको भए पनि यस वर्ष नगरपालिकाले दशैँमा सामाजिक सुरक्षा भत्ता नदिएको कोल्टीका ज्येष्ठ नागरिक चन्द्रमान रेग्मीले बताए ।

स्थानीय सरकार आएपछि सामाजिक सुरक्षा भत्ता पाउन सहज होला भन्ठानेका ज्येष्ठ नागरिकले स्थानीय तहले लापरवाही गरेर ज्येष्ठ नागरिक, बालबालिका र अन्य सामाजिक सुरक्षाभत्ता पाउनेको सेवासुविधामा खेलबाड गरेको गुनासो गरेका छन् ।

बूढीनन्दा नगरपालिकामा करीब एक हजार २०० ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाका लागि प्रतिचौमासिक करीब रु एक करोड १० लाख सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिन्छ ।

बूढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले कामको चापको कारण सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत ढिलो आएका कारण कर्मचारीलाई समेत तलब खुवाउन समस्या भएको र ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न असमर्थ रहेको उनले जानकारी दिए ।

shares