Breaking News

प्रधानमन्त्रीकाे शुभकामना सन्देश, सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्यकाे अपरिहार्यतामा जोड

काठमाण्डाै, २ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा अाेलीले २०७५ सालको बडा दशैँको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै मुलुक राजनीतिक संघर्ष पूरा गरेर समृद्धिको युगमा प्रवेश गरेको बताएका छन् । उनले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिएका छन् ।

‘लामो राजनीतिक संघर्षको युग पार गरेर हाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ। यसबीच जननिर्वाचित संविधानसभाबाट संविधान जारी भइसकेपछि तीन वटै तहका निर्वाचनहरू सम्पन्न भइसकेका छन् । संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरू कृयाशील भइसकेका छन्,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘देश राजनीतिक संक्रमणकालको चरण पार गरेर सामाजिक-आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको छ।’

सन्देशमा उनले भनेका छन्, “देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।”

दशैँ पर्वले नेपालको विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेको बताउँदै देशविदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले खुशियालीको पर्वका रूपमा रहेको विजयादशमीले सबैमा नयाँ उत्साह एवम् उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

shares