Breaking News

प्रदेश २ को प्रदेश प्रहरी भर्ना गर्ने निर्णय खारेज हुन्छ: मन्त्री पण्डित

काठमाण्डौ, २९ असोज ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्न लागेकोबारे केन्द्रीय सरकारलाई जानकारी नभएको बताएका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाण्डौमा आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले यदि प्रदेश प्रहरी भर्ना गर्ने निर्णय भएको भए कार्यान्वयन नहुने र खारेज हुने समेत बताए ।

मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै अब राजनीतिक व्यवस्थापनको काम समेत सकिएको जिकिर गरे । अब नेपालल छिट्टै जनताको चाहना र भावना अनुसारको सुशासन हासिल गर्ने पनि उनले बताए ।

उनले कुनैपनि देशको संघीय प्रणाली अर्थात केन्द्रीकृत प्रणालीबाट संघीय प्रणालीमा जाँदा केही जटिलता तथा समस्याहरू उत्पन्न हुनु र व्यवस्थापनमा केही समय लाग्नु स्वभाविक भएको उल्लेख गरे ।

उनले मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार स्थानीय तह, प्रदेश तह र केन्द्रको पनि माग र आवश्यकता अनुसार राष्ट्रसेवकहरूको नयाँ नियुक्तिको प्रक्रिया अब छिट्टै सुरु गर्ने पनि जानकारी दिए ।

२ महिनाको निम्ति अहिले क्याबिनेटले प्रथम श्रेणी, द्धितिय श्रेणी, र ११ औं र नवौं तहको पदपूर्तिको व्यवस्था एकपटकको निम्ति लोकसेवा आयोगलाई बन्द गर्ने भनेर अनुरोध पठाएको उनले बताए ।

नेपालको संघीयता तीन तहबीच समन्वयात्मक रहेको बताउँदै पण्डितले केन्द्रको संविधानले दिएको अधिकारको सीमाभित्र रहेर प्रदेश अगाडि बढ्नुपर्ने जिकिर गरे । स्थानीय तह र प्रदेश सरकारमा रहेका समस्याहरू समाधान गर्न केन्द्र सरकार सहयोगी बन्ने पनि उनले बताए ।

shares