Breaking News

पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक

पोखरा, २९ असोज ।

पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल)को खेल तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ ।

पोखरा रंगशालामा कार्तिक ९ गतेबाट हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटनको दिन एक खेल हुनेछ । यस्तै दोस्रो दिन शनिबार दुई खेल हुनेछन् । जसमा चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा काठमाण्डौ रोयल्स र धनगढीबीच हुनेछ ।

लिग चरणका शीर्ष चार टिमले दोस्रो चरणमा प्रवेश गर्नेछन् । लिग चरणकाे शीर्ष टिम फाइनलमा पुग्नेछ भने दाेस्राे र तेस्राे हुने टिमले इलिमिनेटर खेल्नेछ ।

कार्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदानलगायत सबै तयारी अन्तिम चरणमा पुगेको छ । जसका लागि खेलाडीको अक्सन भइसकेको छ भने विदेशी र स्थानीय खेलाडी अनुबन्धको काम भइरहेको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट हुने खेलाडीले एक एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैंक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेको छ ।

shares