Breaking News

श्रीपेच र राजदण्डसहित १२ सामग्री सार्वजनिक

काठमाण्डौ, २९ असोज ।

तत्कालिन राजाहरूले लगाउने श्रीपेच नारायणहिटी दरबार संग्रहालय भ्रमण गर्नेहरूले अाजदेखि हेर्न पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संग्राहलयमा आयोजित एक कार्यक्रममा श्रीपेच, राजदण्डसहित १२ वटा सामग्री सार्वजनिक गरेका हुन् ।

विशेष सुरक्षाकासाथ बुलेट प्रुफ शिशाको शोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ । पद र शक्तिको प्रतीकको रूपमा रहेको श्रीपेचलार्इ जनताले संग्रहालयको वस्तु बनाएको भन्दै प्रधानमन्त्री ओलीले आन्दोलनको स्मरण गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वर्तमान सरकार गठन भएपछि दशैंअगाडि श्रीपेच सार्वजनिक गर्ने प्रतिबद्धता पूरा गरेको बताए । मन्त्री अधिकारीले नारायणहिटी दरबार संग्रहालयलार्इ नेपालको उत्कृष्ट संग्रहालय बनाउने घोषणा गरे ।

तत्कालीन राजाहरूले पहिरिने श्रीपेचमा ७५०, टायरामा २ हजार ७ सय वटा हिराका टुक्रा छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

श्रीपेचमा कल्ली बाहेकका भागमा हिरामोती, माणिक, नवरत्न, सुन जडित छ । राजदण्ड र चमरमा भने सुनैसुन छ । अन्तिम राजा ज्ञानेन्द्र शाहले श्रीपेच लगाएका थिए ।

गणतन्त्र स्थापनापछि तत्कालिन राजा शाहले श्रीपेच हस्तान्तरण गर्न अानाकानी गरेका थिए । सरकारकाे चेतावनीपछि शाहले श्रीपेच नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । लामो समयसम्म श्रीपेचलाई डिजिटल पासवर्ड प्रणाली भएको दराजमा राखिएको थियो ।

shares