Breaking News

मीडिया उद्यमी हेमराज ज्ञवालीको निधन

काठमाण्डौ, २८ असोज ।

नेपालमा व्यावसायिक पत्रकारिताको सुरुवात गर्ने मध्येका एक मीडिया उद्यमी हेमराज ज्ञवालीको निधन भएको छ । ज्ञवालीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो ।

अस्पतालले माईण्डएट्याकको कारण ७९ वर्षीय ज्ञवालीको निधन भएको जनाएको छ । २०४६ को जनआन्दोलनपछि कान्तिपुर पत्रिका प्रकाशन गरेर ज्ञवालीले निजी क्षेत्रबाट व्यवसायिक पत्रकारिताको जग निर्माण गरेका थिए । लामो समय कान्तिपुरको अध्यक्ष रहेका ज्ञवाली २०६२–६३ मा नेपाल रिपब्लिक मिडियाको संस्थापक अध्यक्ष थिए ।

मीडिया उद्यमी ज्ञवालीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवा, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलगायतले समवेदना प्रकट गरेका छन् । अन्य मीडिया उद्यमी र पत्रकारले पनि ज्ञवालीको निधनमा समवेदना व्यक्त गरेका छन् ।

भुवनेश्वर र पूर्णकुमारीका कोखबाट १९९५ साल चैत १७ गते रामनवमीका दिन गुल्मी जिल्लाको मानकोटमा जन्मिएका ज्ञवालीले वाराणसेय संस्कृत विश्वविद्यालयबाट शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका थिए । २०१७ देखि सरकारी सेवामा प्रवेश गरेका ज्ञवालीले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

shares