Breaking News

टर्कीमा २२ जना आप्रवासीको मृत्यु, १३ जना घाइते

इस्तानबुल, २८ असोज । टर्कीमा भएको सडक दुर्घटनामा बालबालिकासहित कम्तीमा २२ जना आप्रवासीको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त इज्मीरमा सडकछेउको बारमा ठक्किएर २० मिटर तल नहरमा खस्दा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा अरु १३ जना घाइते भएका छन् । घाइतेहरूलाई नजिकको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरूको पहिचान अझै खुल्न नसकेको बताइएको छ ।

भिडियो तस्वीरमा दुर्घटनाग्रस्त ट्रक पल्टिएको र यात्रारत व्यक्तिहरूका सामान यत्रतत्र छरपस्ट रहेको भेटिएको छ ।

विगत केही वर्षदेखि सिरिया र मध्यपूर्वी राष्ट्रहरूबाट लाखौं आप्रवासीहरू समुद्रको बाटो हुँदै युरोपेली युनियनको सदस्य राष्ट्र ग्रीसतर्फ प्रस्थान गर्ने गर्दछन् भने टर्की यसको मुख्य ट्रान्जिट प्वाइन्ट हो ।

सन् २०१६ मा टर्की र युरोपेली युनियनबीच आप्रवासी प्रवेशमा कडा नीति अवलम्बन गर्नेगरी सम्झौता भएपनि गैरकानुनी तरिकाबाट आप्रवासीहरू ग्रीस प्रवेश गरिरहेका छन् ।

shares