Breaking News

पूर्वी युगाण्डामा पहिरोमा परी कम्तीमा ३४ जनाको मृत्यु

काठमाण्डौ, २६ असोज ।

पूर्वी युगाण्डाको बुदुदा जिल्लामा रहेकाे एल्गन पहाडमा पहिरो जाँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने हजारौं मानिस घरवार विहिन भएका छन् ।

कैयौं घर पुरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । पहिरोका कारण पहाडको फेदमा रहेको एउटा गाउँ पूरै पुरिएको छ । पहिरोले नजिकैको नदी थुनिएपछि धार परिवर्तन गर्दै बजार क्षेत्रमा प्रवेश गरेको नदीमा थुप्रै हराइरहेका छन् ।

उद्दारकाे कार्य जारी रहेकाे र हराइरहेकाहरूकाे खाेजी भइरहेकाे उद्दारकर्ताहरूले बताएका छन् । मध्य वर्षाको मौसममा अविरल वर्षा भइरहेकाले हराइरहेकाहरू जीवितै भेटिने सम्भावना अत्यन्तै कम रहेको अधिकारीहरूले बताएका छन् ।

केन्यासँगको सीमा क्षेत्रमा पर्ने उक्त स्थानमा बाराम्बार पहिरो जाने गरेको छ । सन् २०१० मा पनि बुदुदामा पहिरो जाँदा एक सयभन्दा बढीको ज्यान गएको थियो भने सन् २०१२ मा गएको पहिरोले तीनवटा गाउँ पूरै सखाप पारेको थियो ।

shares