Breaking News

पौडी प्रतियोगिताको उपाधि आर्मीका गुरुङ्गलाई

प्रेम नेपाली/पोखरा, २६ असोज ।

पर्यटकीय नगरी पोखराको फेवातालमा शुक्रबार भएको आठौं संस्करणको खुल्ला पौडी प्रतियोगिताको उपाधि नेपाल आर्मीका ओलम्पियन शिरिष गुरुङ्गले जितेका छन् ।

कास्की जिल्ला पौडी संघको आयोजनामा भएको प्रतियोगितामा गुरुङ्गले निर्धारित दुई किलोमिटर पाँच सय मिटरको दूरी २१ मिनेट ३२ सेकेण्ड ६७ मिलिसेकेण्डमा पुरा गर्दै उपाधि चुमेका हुन् । विजेता गुरुङ्गले २५ हजार रुपयाँसहित मेडल पाए । यसअघि गुरुङ्गले छैटौं र पाँचौ संस्करणको उपाधि पनि जितेका थिए ।

प्रतियोगितामा काठमाण्डौं डिएभि कलेजका वेदज्ञराज जोशी दोस्रो भए । जोशीले निर्धारित दुरी २१ मिनेट ३८ सेकेण्ड ३१ मिलि सेकेण्डमा पूरा गरेका थिए ।

काठमाण्डौं निसर्ग वाटिका माविका दिपाङ अवालेले निर्धारित दुरी २१ मिनेट ४२ सेकेण्ड ९२ मिलि सेकेण्डमा पूरा गर्दै तेस्रो भए । प्रतियोगितामा ४० जना सहभागी थिए ।

यसैगरी महिला प्रिमियर ईन्टरनेश्नल माविकी छात्रा उपास्ती महर्जन प्रथम भइन् । उनले निर्धारित दुरी २२ मिनेट ३३ सेकेण्ड ३५ मिलि सेकेण्डमा पूरा गरिन् ।

काठमाण्डौंका निर्सग वाटिकाका छात्रा समिरा शोभा थापा दोस्रो र प्रिमियर ईन्टरनेश्नल स्कुलकी शेवी महर्जन तेस्रो भइन् । प्रतियोगितामा ५ जना विदेशी प्रतियोगी सहभागी थिए ।

shares