Breaking News

अागलागीपीडितका लागि नयाँ घर उपहार

पर्वत, २६ असोज । आगलागीमा परी घरगोठ गुमाएका पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहार पाएका छन् ।

गत वैशाख १६ गते आगलागी हुँदा घरगोठ जलेपछि आफन्तको शरणमा बस्दै अाएका महाशीला गाउँपालिका–१ होस्राङ्दीका पीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिएका हुन् । त्यसैगरी उनलाई कोरियामा बस्दै आएकी दीपा रानाले नयाँ गोठ निर्माण गरिदिएकी छिन् ।

पशु चौपायसहित घरगोठ गुमाएका अधिकारीलाई रु तीन लाख खर्च गरेर गुरुङले घर निर्माण गरिदिएका छन् । सामाजिक सञ्जालमार्फत महाशीला गाउँपालिकामा कार्यरत पशु प्राविधिक दिनेश गुरुङले खरिलालको घर निर्माण अभियान सञ्चालन गरेका थिए ।

कमजोर आर्थिक अवस्था भएका खरिलालको श्रीमती र दुई छोरासहितको परिवारले नयाँ घर पाएपछि अहिले निकै खुसी भएका छन् । “यति धेरै मनकारी व्यक्ति छन् भन्ने मैले सोचेकै थिइन”, नयाँ घर हस्तान्तरण कार्यक्रममा खरिलालले भने, “आज मैले नसोचेको बास पाएको छु ।”

उनलाई बिहीबार महाशीला गाउँपालिकाका अध्यक्ष राजु पौडेलमार्फत घर हस्तान्तरणसमेत गरिएको छ ।

shares