Breaking News

नेपाल बन्यो एसिया छनोट ‘बी’को च्याम्पियन

काठमाण्डौ, २६ असोज ।

नेपाल आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया उपक्षेत्रीय छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

आज भएको समूहको अन्तिम खेल वर्षाले अबरुद्ध भएपछि सिंगापुरसँग अंक बाडेको नेपाल रनरेटका आधारमा प्रतियोगिताको विजेता बनेको हो । नेपाल र सिंगापुर दुवैको ६ खेलबाट ५ खेलमा जित हात पार्दै समान ११ अंक भए पनि रनरेटका आधारमा नेपाल च्याम्पियन बन्यो ।

जितसँगै नेपाल समूह विजेता बन्दै एशिया छनोट प्रतियोगिताका लागि छनोट भएको भएको छ भने सिंगापुर उपविजेताका रूपमा र मलेशिया तेस्रो हुँदै छनोट भएका छन् ।

एशिया छनौटमा यसअघि नै युएई, कतार र दुवई छनौट भइसकेका छन् । एशिया छनौटबाट २ टोली विश्वकपको ग्लोबल छनौटमा पुग्नेछन् ।

आज भएको खेलको दोस्रो इनिङ सुरु हुँदा वर्षाका कारण खेल रोकिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामी र करण केसीले २-२ तथा ललित राजबंशी र बसन्त रेग्मीले १-१विकेट लिएका थिए ।

दोस्रो इनिङमा नेपाल ब्याटिङमा आउँदा तेस्रो बलको खेल सकिने बित्तिकै वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टिमले १-१ अंक बाँडेका थिए ।

shares