Breaking News

जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न सक्दैन: गृहमन्त्री

काठमाण्डौ, २६ असोज ।

गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन् ।

गृहमन्त्री थापाले मुलुकमा महिला, बालबालिकामाथिको बढ्दो हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको पनि स्पष्ट पारे ।

शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटनाका मुख्य कारक मदिरा सेवन रहेकोे स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराए ।

७० प्रतिशतभन्दा बढी महिला र बालबालिकामाथि हुने जघन्य अपराधको प्रमुख कारण मदिरा सेवन रहेको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्‍याए ।

गृहमन्त्री थापाले मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी पनि गरे । उनले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुःखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको पनि बताए ।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रूपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढने दृढता पनि व्यक्त गरे ।

shares