Breaking News

मासु अनुगमन, एक क्विन्टल बढी गुणस्तरहीन मासु नष्ट

नरेश केसी/भैरहवा, २६ असोज ।

सिद्धार्थनगर नगरपालिकाको संयुक्त अनुगमन टोलीले नगरका विभिन्न मासु पसलहरूमा बिक्रीका लागि राखिएको एक क्विन्टल बढी गुणस्तरहीन मासु नष्ट गरेको छ । शुक्रबार अनुगमनमा पुगेको टोलीले वडा नम्बर १३ र ७ का गरी ९ वटा मासु पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा फेला परेको गुणस्तरहीन मासु नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा नगरपालिका सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले बताए । अनुगमनका क्रममा सिनपा वडानम्बर ७, स्थित जनकपथ चोकमा रहेको न्यू सुपर मासु पसलले बिक्रीका लागि फ्रिजमा राखेको गुणस्तरहीन ७० केजीभन्दा बढी खसीको मासु नष्ट गरिएको उनले बताए ।

यस्तै सिनपा १३ स्थित हाटबजारमा रहेको कुरेसी मासु पसलले बिक्रीका लागि राखेको कुखुराको र खसीको गरी ४० केजी बढी मासु पनि नष्ट गरिएको छ । कुरेसीले महिनौंसम्म फ्रिजमा राखेको खसीका टाउका, बोसो, हड्डीसहितको मासु गुणस्तरहीन पाइएपछि नष्ट गरिएको उपभोक्त हित संरक्षण मंच रुपन्देहीकी सदस्य भगवती भण्डारीले बताइन् ।

यस्तै वडा नम्बर ७ स्थित भैरहवा गाउँमा रहेको सिमोन फ्रेस हाउसले बिक्रीका लागि राखेको कुखुराको करिब १० केजी बढी मासु पनि नष्ट गरिएको छ । मासु काटेर महिनौं दिनसम्म फ्रिजमा राखेर सडेगलेको गुणस्तरहीन मासु उपभोक्तालाई बिक्री गर्दै आएको पाइएपछि उक्त मासु नष्ट गरेर आगामी दिन गल्ती नदोहोर्‍याउन सचेत गराइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश मासु पसलको बधशाला सफा नभएको, टायल नलगाएको, पसल दर्ता प्रमाणपत्र नलिएको, बिल नकाटेको, प्रमाणपत्र नवीकरण नगरेको पाइएको अनुगमन समिति सदस्य तथा बाणिज्य कार्यालय भैरहवाकी नासु मंगला शर्माले बताइन् ।

उपभोक्ताले चाडपर्वको बेला अत्यधिक मासुको प्रयोग गर्छन् । यसैको मौका छोपेर व्यवसायीले गुणस्तरहीन मासु बिक्री गर्दै आएका हुन् । अनुगमन टोलीका संयोजक सापकोटाले गुणस्तरहीन मासु बिक्री गर्नेलाई पहिलो पटक सचेत गराई सुफासुग्गर मासु बिक्री गर्न आग्रह गरिएको बताए । उनले टोलीले अनुगमनलाई जारी राख्ने जनाउँदै यदि फेरि पनि गुणस्तरहीन मासु बिक्री गरेको पाइए कानूनअनुसार कारबाही गरिने बताए ।

उनले मापदण्डविपरीत गुणस्तरहीन मासु बिक्रीवितरण गर्ने र सरसफाइमा ध्यान नदिने व्यवसायीलाई २ दिनभित्र नगरपालिकामा उपस्थित हुन दिर्नेशन दिइएको समेत बताए । अटेर गर्नेको व्यवसाय बन्द गर्नेदेखि जरिवाना समेत गरिने टोलीले जनाएको छ ।

अनुगमनमा सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य धर्मवीर शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि नगर प्रहरी लगायतको सहभागिता थियो । अनुगमन समितिले चाडबाडका समयमा जथाभावी मूल्य लिई उपभोक्ता ठग्ने तथा कानूनविपरीत गर्नेलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । उपभोक्तालाई खरिद गर्दा आफू पनि सचेत हुन अनुरोध गरेको छ भने यदि कसैले गलत तरिकाले ठग्न खोजे अनुगमन समितिलाई खबर गर्न आग्रह समेत गरेको छ ।

shares