Breaking News

अाज बडादशैंको तेस्रो दिन, चन्द्रघण्टाको पूजाअर्चना गरिंदै

काठमाण्डौ, २६ असोज ।

हिन्दूहरूको महान् चाड बडादशैंको आज तेस्रो दिन, चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको पूजाअर्चना गरिंदैछ ।

चन्द्रघण्टादेवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । विशेषगरी काठमाडौं उपत्यकाका शक्तिपीठमा बिहानैदेखि श्रद्धालुहरू लामलागेर पूजाअर्चना सुरु गरेका छन् ।

आज काठमाडौंका भद्रकाली, इन्द्रायणी, कंकेश्वरी, मैतीदेवी, गुहेश्वरी, नक्साल भगवती, शोभा भगवती, दक्षिणकालीलगायतका शक्तिपीठमा दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ ।

आश्विनशुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको पूजा आराधना गरी दशैं मनाइन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने दशैं पर्वमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैं घरमा पूजाअर्चनासहित दुर्गा भगवतीको आराधना गरिन्छ ।

चन्द्रघण्टा देवीको आराधना गर्नाले सबैप्रकारका दुखकष्ट नाश हुने तथा बाधा हट्ने जनविश्वास रहिअाएको छ ।

shares