Breaking News

नुवाकोट बस दुर्घटनामा २ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाण्डौ, २६ असोज ।

नुवाकोटको समुन्द्रटारबाट त्रिशुली बसपार्कतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा १ ख ६३५६ नम्बरको बस नुवाकोटको सूर्यगढी गाउँपालिकाको वडा नं ५ स्थित फेदीबेसी भन्ने स्थानमा शुक्रबार बिहान १० बजे सडकबाट २ सय मिटर तल खस्दा दुर्घटना भएको नुवाकोटबाट हाम्रा संवाददाता जगदिश खनालले जानकारी दिएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा एक वृद्ध र एक महिला रहेको र उनीहरूको सनाखत हुन सकेको छैन । साथै दुर्घटनामा एक बालक बेपत्ता रहेको र दर्जनौं यात्रु घाइते भएका छन् ।

घाइते यात्रुको अवस्था गंम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाण्डौको ग्रान्डी र ग्रीनसिटी अस्पताल ल्याइएको छ अन्य घाइतेको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कच्ची बाटो, पुरानो गाडी, तीव्र गति र क्षमताभन्दा बढी यात्रुको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।

घाइतेलाई भेट्न काठमाण्डौको ग्रीनसिटी अस्पतालमा पुगेकी नुवाकोटकी प्रदेश सांसद एवं प्रदेश नंबर ३ की उपसभामुख राधिका तामाङले अन्य गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको जानकारी दिइन् ।

उपसभामुख तामाङले दुर्घटनाको अनुसन्धान गरिने जानकारी पनि दिइन् ।

shares