Breaking News

‘तित्ली’ नामको चक्रवातका कारण पूर्वी भारतमा २ जनाको मृत्यु

काठमाण्डौ, २५ असोज । ‘तित्ली’ नामको चक्रवातका कारण पूर्वी भारतमा २ जनाको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको श्रीकाकुलम सहरमा एक जनाको घर भत्किएर र अर्का एक जनाको रूखले च्यापिएर मृत्यु भएको हो । तीव्र गतिमा आएको आँधीका कारण ओडिसा र आन्ध्र प्रदेश राज्यका विभिन्न स्थानमा पहिरो गएको छ । १ सय ६५ किलोमिटर प्रतिघण्टाको गतिले आएको चक्रवातका कारण विद्युत आपुर्ति बन्द भएको छ ।

तटीय क्षेत्रमा बाढी आउन सक्ने मौसम विभागले चेतावनी दिएको छ । गन्जम र गजपति जिल्लाका कतिपय स्थानमा विजुलीका पोलहरू ढलेका छन् भने रूखहरू जरैदेखि उखेलिएका छन् । चक्रवातको असर बङ्गलादेशको तटीय सहर कोक्स बजारमा पनि परेको छ ।

उक्त क्षेत्रमा लाखौं रोहिङ्ग्या मुसलमान त्रिपाल र बाँसले बनेका टहरामा बसिरहेकाले चक्रवात त्यहाँसम्म पुगे ठूलो मानवीय क्षति हुनसक्ने बताइएको छ । भारतमा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने रेल वे स्टेसन, एयरपोर्ट र विद्यालयहरू शुक्रबारसम्मका लागि बन्द गरिएका छन् ।

shares