Breaking News

उपसमितिले चिनीकाे मूल्य वृद्धिबारे प्रतिवेदन बुझायो

काठमाण्डौ, २५ असोज ।

संघीय संसद सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले चिनीको मूल्य वृद्धि गराउन ठूलो आर्थिक चलखेल भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।

लेखराज भट्ट संयोजकत्वमा गठित उपसमितिले बिहीबार समितिलाई बुझाएको प्रतिवेदनमा चिनीकाे मूल्य बढाउन ठूलाे अार्थिक चलखेल भएकाे निष्कर्ष निकालेकाे हाे ।

सरकारी निकायकै मिलेमतोमा ठूलो आर्थिक चलखेल गरेर चिनीको चरम मूल्य वृद्धि गरिएको देखिएकाले विस्तृत छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्ने सुझावसहितको प्रतिवेदन समितिले पेश गरेको उपसमितिका संयोजक लेखराज भट्टले बताए ।

बैठकमा बोल्दै समितिका सदस्यहरूले चाडबाडको बेला चिनीको चर्को मूल्य नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्यहरूले चिनीको मूल्यमा चरम वृद्धि भएकाे भन्दै त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारकाे गम्भीर ध्यानाकर्षण गराए ।

उपसमितिकाे प्रतिवदनमाथि छलफल गर्ने क्रममा प्रतिवेदनमा चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कतै नलेखिएकाे भन्दै समितिका सदस्यबीच नै चर्काचर्की भएकाे थियाे ।

समितिका सदस्यहरूको चर्काचर्कीपछि समितिका सचिव डा. रोजनाथ पाण्डेले कर्मचारीलाई प्रतिवेदनमा चिनीकाे मूल्य ६३ रुपैयाँ थप्न लगाएका थिए ।

चाडपर्वका बेला चिनीको मूल्य चरम रूपमा वृद्धि गरिएपछि सार्वजनिक लेखा समितिले सो समस्या समाधानका लागि आवश्यक सुझाव दिन भट्ट नेतृत्वको उपसमिति बनाएको थियो ।

shares