Breaking News

कार्कीलाई मदन पुरस्कार र मानन्धरलाई जगदम्बाश्री पुरस्कार प्रदान

काठमाण्डौ, २५ असोज ।

मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार निलम कार्की निहारिकाको पुस्तक ‘योगमाया’लाई प्रदान गरेको छ ।

बिहीबार ललितपुरमा आयोजित विशेष समारोहका बीच निहारिकाको पुस्तक ‘योगमाया’लाई मदन पुरस्कार प्रदान गरिएको हो ।

गुठीले ‘योगमाया’सँगै, ध्रुवसत्य परियारको ‘कैरन’, नयनराज पाण्डेको ‘यार’, सरस्वती प्रतीक्षाको ‘नथिया’, यज्ञशको ‘भुइँया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’, तीर्थ गुरुङको ‘पाठशाला’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ लाई पुरस्कारका लागि श्रेष्ठ ८ पुस्तकको रूपमा छनोट गरेको थियो । तीमध्ये ‘योगमाया’लाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

१९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन् । तिनै योगमायाका बारेमा साहित्यकार निहारिकाले स्थलगत अध्ययन गरी ‘योगमाया’ उपन्यास तयार गरेकी हुन् ।

लेखक कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै ‘अर्की आइमाई’ र ‘चीरहरण’ उपन्यास प्रकाशित छन् । ‘चीरहरण’ले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो ।

त्यसैगरी कार्यक्रममा बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ । पुरस्कार ग्रहण गर्दे निहारिका र मानन्धरले पुरस्कारले थप उचाइमा पुगेको बताएका थिए ।

shares