Breaking News

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने विज्ञहरूको भनाइ

काठमाण्डौ, २५ असोज ।

फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।

बिहीबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समतिले आगामी ५/७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको लागि सरकारसंग माग समेत गरेको छ ।

कार्यक्रममा टाँगियाबस्ती सरोकार समितिका तर्फबाट रमेश सापकोटाले विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको १४७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो गरे ।

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरले २०५० साल यता उक्त विमानस्थल निर्माणको काम सरकारले अभ्यासको रूपमा मात्रै गरिरहेको आरोप लगाए । अहिले विभिन्न बाधा तथा व्यवधानहरू अघि सारेर योजना नै असफल बनाउन लागिपरेको उनको भनाइ छ ।

त्यस्तै पूर्वाधार विज्ञ ई. डा. सूर्यराज आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारण कसैले पनि विरोध गर्न नहुने धारणा राखे ।

कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्र बहादुर देउजाले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा धेरै समस्याहरू रहेको भन्दै अन्य अन्तराष्ट्रिय विमानस्थलको कार्यलाई तीव्रता दिनुपर्ने बताए ।

shares