Breaking News

पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र स्थापना हुने

काठमाण्डौ, २५ असोज ।

गैरआवासीय नेपाली संघको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र स्थापना हुने भएको छ ।

महासंघमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र स्थापना सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । ३० लाख लागतमा बन्ने उक्त केन्द्रको पहिलो चरणमा १५ लाख लागतको ९ हप्ता काम हुनेछ ।

विश्वको पत्रकारिताको ज्ञान हासिल गर्नका लागि विद्युतीय पुस्तकालय महत्वपूर्ण रहेको महासंघले जनाएको छ । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पत्रकारिता राज्यको महत्वपूर्ण अंग भएका कारण महासंघसँग सहकार्य गरेको बताए । उनले समृद्ध नेपालका लागि गैरआवासीय संघ लागिपरेको धारणा राखे ।

त्यस्तै महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै सहयोगका लागि गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गरे ।

नेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष कपिलदेव थापाले आफूहरूले क्यानडामा सिकेको आधुनिक पुस्तकालय सम्बन्धी सीपलाई नेपालका विभिन्न सामुदायिक संघसंस्थामा सहयोग गरिरहेको बताए । पुस्तकालय क्षेत्रमा क्रियाशील इन्जिनियर रमेश मैनालीले महासंघमा स्थापना हुने पुस्तकालय विगतका भन्दा आधुनिक हुने बताए ।

shares