Breaking News

प्रधानमन्त्री भन्छन्- ‘प्रहरीको ९० प्रतिशत सफलताले पुग्दैन’ [सन्दर्भ: ६३औं प्रहरी दिवस]

काठमाण्डौ, २५ असोज ।

नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय नक्सालमा अाज ६३ औं प्रहरी दिवस मनाएकाे छ ।

हेडक्‍वाटर परिसरमा दिवसकाे अवसरमा आयोजित समारोहमा सहभागीहरूमध्ये शहीद परिवारका महिलाहरू भने अलि फरक अवस्थामा देखिएका थिए । काेहीले अाँशु नै झारे त काेही भावुक थिए । अमर प्रहरीप्रति श्रद्धाञ्जली गर्ने कार्यकर्ममा सहभागी अधिकांश महिलाहरू भावुक भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको बताए । उनले नेपाल प्रहरी शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा समेत गरे । वि. सं. २०१२ सालमा मुक्ति सेनाबाट नेपाल प्रहरी जन्मिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रहरी अब अझै जनतामुखी हुनुपर्ने जरुरी रहेकाे बताए ।

तर नेपला प्रहरीले पछिल्लाे समय अपराध अनुसन्धानमा सफलता पाएको भएता पनि कुनै एउटा संवेदनशील विषयमा अनुसन्धान राम्रो गर्न नसक्दा गरेकाे सबै राम्रा काममा पनि गलत असर पर्न जाने भन्दै प्रधानमन्त्री ओलीले घुमाउरो पारामा निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउनुपर्ने अाशय व्यक्त गरे ।

कार्यक्रममा सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्य प्रहरीहरूमध्ये नेपाल प्रहरी उत्कृष्ठ रहेकाे दाबी गरेका छन् । किनकि अपराधको अनुसन्धान गर्ने एकमात्र विज्ञहरूको समूह नेपाल प्रहरी नै भएको उनकाे कथन छ । तैपनि प्रहरी एक्लैले मात्रै समाजमा अपराध निर्मूल पार्न नसक्ने भन्दै आइजीपी खनालले यसमा स्थानीय जनता एवं नागरिकहरूको समेत सहयोगकाे अावश्यकता रहेकाे जनाएका थिए ।

आफ्नो कर्तव्यको सिलसिलामा ज्यान गुमाउने प्रहरीहरूमाथि प्रधानमन्त्रीले श्रद्धासुमन व्यक्त गरेका थिए । अहिलेसम्म एक हजार ६ सय १० जना प्रहरी शहीद भएकाे तथ्यांक छ । प्रहरीलाई सबल बनाउनमा विभिन्न क्षेत्रबाट याेदान गरेका प्रहरी अधिकृतसिहत अन्यलाई अाज सम्मानित गरिएकाे थियाे ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति थियो ।

shares