Breaking News

देशलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार: प्रधानमन्त्री

काठमाण्डौ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार भएको बताएका छन् ।

६३ औं प्रहरी दिवसका अवसरमा अाज बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठनको प्रमुख जिम्मेवारी रहेको बताए ।

नेपाल प्रहरीले अन्तराष्ट्रियस्तरमा समेत आफ्नो पहिचान बनाएको उल्लेख गर्दै अपराध अनुसन्धानमा अब्बल रहेको प्रहरी एउटा मुद्दामा पनि चुक्न नहुनेमा प्रधानमन्त्री ओलीकाे जाेड छ । उनले प्रहरी संगठनलाई स‌ंघीय स‌ंरचनामा लैजान र थप बलियाे बनाउने गरी सरकारले गृहकार्य गरिरहेकाे जानकारी दिए ।

कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरूलाई समेत पुरस्कृत गरिएकाे छ । विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ।

shares