Breaking News

मध्य-अमेरिकामा सय वर्षयताकै शक्तिशाली आँधीमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

काठमाण्डौ, २५ असोज ।

मध्य अमेरिकामा एक सय वर्षपछि अाएकाे सबैभन्दा शक्तिशाली आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको ‘माइकल’ आँधी र बाढीबाट फ्लोरिडा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ । यस क्षेत्रमा ५ लाख मानिसहरू विद्युत अवरुद्ध भएपछि अँध्यारोमा बस्न बाध्य भएका छन् ।

फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरूलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मानिसहरूलाई सुरक्षित स्थानमा सार्न धेरै प्रकारले कोशिश गरिरहेकाे बताएका छन् । फ्लोरिडाका गर्भनर रिक स्कटले यो आँधी एक सय वर्षयताको सबैभन्दा खतरनाक भएको बताएका छन् ।

माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । राष्ट्रिय तुफान केन्द्रले सुरक्षित स्थानमा जान नसकेकाहरूलाई घरबाहिर ननिस्किन भनेको छ ।

राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरूलाई आँधीले क्षति पुर्‍याउन सक्ने बताएका छन् ।

shares