Breaking News

आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजाआजा गरी मनाइँदै

काठमाण्डौ, २५ असोज ।

आज बडादशैंको दोस्रो दिन भगवती ब्रह्मचारिणीको पूजाआजा गरी मनाइँदैछ । देवीभागवत लगायतका धार्मिक ग्रन्थमा भगवती ब्रहमचारिणीको रूपलाई माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ ।

देवीभागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रलाई नवरात्रव्रत भनिएको छ । त्यसको दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना गरी आज द्वितीया पर्व मनाउने चलन छ । घटस्थापनाको दिनदेखि सुरू भएको नवरात्रिको दोस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो ।

घटस्थापनाको दिन राखेको जमरालाई बिहान झिसमिसेमै आत्मशुद्धिपश्चात् पवित्र जल जमरामा अर्पण गरिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण कलशको वरिपरि नौवटा देवी स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । जसमध्ये आज ब्रह्मचारिणीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पञ्चोपचारले पूजाआजा गर्ने गरिन्छ ।

आज नवरात्रिको दोस्रो दिन ब्रहमचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रूपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्था मानिन्छ ।

माता पार्वतीको यो रूपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ । शास्त्रहरूमा उनको वदनवर्ण कलेजी रङको रहेको वर्णन छ । ब्रह्मचारिणी देवीले एक हातमा कमल धारण गरेकी छन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको संकेत गर्छ ।

देवी ब्रहमचारिणीको पूजाआराधना गर्न भक्तजनहरू बिहानैदेखि मुलुकका विभिन्न शक्तिपीठ, देवीमन्दिरमा भेला भएका छन् । घरघरमा स्थापित दसैंघर वा पूजाकोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थ वाचन र श्रवणको क्रम पनि चलिरहेको छ ।

उपत्यकाका तलेजु भवानी, गुह्वेश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा भक्तजनको घुइँचो लागेको छ ।

उपत्यका बाहिर दाङको अम्बीकेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, स्याङ्जाको आलमदेवी, गह्रौंकालिका, पोखराको विन्ध्यवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको बागलुङ कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई लगायतका मन्दिरमा पनि भक्तजनको घुइंचो लागेको छ ।

shares