Breaking News

वामदेव गौतमलाई चुनावमा उठाउने तयारीसँगै नेकपाभित्र सार्वजनिक रूपमै विवाद सुरु

काठमाण्डौ, २४ असोज ।

वामदेव गौतमलाई काठमाडौं ७ बाट चुनावमा उठाउने तयारीसँगै सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपामा सार्वजनिक रूपमै विवाद सुरु भएको छ ।

नेकपाका जिम्मेवार नेताहरूनै गौतमको समर्थन र विरोधमा उत्रिएका छन् । पूर्व एमाले नेता–कार्यकर्ता सामाजिक सञ्जालमार्फत् आफूलाई गौतमको पक्ष र विपक्षमा उभ्याउँदै बाझाबाझमा उत्रिएका छन् ।

नेकपाका नेता भीम रावलले ट्वीट गर्दै वामदेव गौतमलाई चुनावमा उठाउने कदमले राष्ट्रिय र पार्टी जीवनमा प्रभाव पार्ने टिप्पणी गरेका छन् । स्थायी कमिटीमा छलफल नभएको भन्दै रावलले निहीत स्वार्थ र आवेगमा काम नगर्न सचेत गराएका छन् ।

उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य निकट मानिने केन्द्रीय सदस्य सूर्य थापाले गौतमलाई चुनाव उठाउने नाममा झुटको खेती भैरहेको टिप्पणी गरेका छन् । फेसबुकमा थापाले गौतम प्रयोग गर्न मिल्ने नेता भएको र औचित्य अनुसार अहिले पनि प्रयोग गर्न लागिएको लेखेका छन् ।

अर्का केन्द्रीय सदस्य बसन्त मानन्धर भने गौतमको बचाउमा उत्रिएका छन् । गौतमलाई योजनाबद्ध ढंगले विवादमा पार्न खोजिएको मानन्धरले दाबी गरेका छन् । पार्टीलाई कमजोर बनाउन व्यक्ति विशेषले बार्गेनिङ गरेको मानन्धरको तर्क छ ।

नेता भीम रावल, सूर्य थापा र बसन्त मानन्धरका पोष्टहरूमा नेता कार्यकर्ता विभाजित भएर प्रतिक्रिया दिएका छन् । कतिपयले ती पोष्टमा आलोचना गरेका छन् भने कतिपयले विरोध गरेका छन् ।

shares