Breaking News

आफन्त बनेर लुट्छन् नेपालीले नै घर फर्किनेलाई भारतमा

नरेश के.सी./भैरहवा, २४ असोज ।

चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा नेपाल भारत सीमा क्षेत्रमा नेपालीबाट नै नेपालीहरू लुटिने गरेका छन् ।

सुनौली – भैरहवा नाका हुदैं दशैं, तिहार, छठ र नेपाल सम्बत जस्ता नजिकिएका चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा भारतीय भूमिमा नेपालीहरूले नै चिनजान गरेर उनीहरूलाई नशालु पदार्थ खुवाई लुट्ने गरेको नेपाल प्रहरीले जनाएको छ ।

बेलहियास्थित नेपाल प्रहरीका प्रहरी निरीक्षक वीर बहादुर थापाका अनुसार दशैं मनाउन फर्किएकाहरूमध्ये अहिलेसम्म ६ जना नेपाली लुटिएका छन् । उनीहरूलाई भारतको गोरखपुर, वनारस र कानपुरमा टिकट काट्ने क्रममा चिनजान भएका नेपालीहरूले बिस्कुट तथा जुस खुवाई लुट्ने गरेका छन् ।

टिकट काउन्टरमा चिनजान हुन्छ अनि एउटै जिल्लाको भएको परिचय दिन्छन् र संगै सिटमा कुराकानी गर्दै आउछन् । अनि चिसो विस्कुट खुवाएर लुटेर भाग्ने लुटेराहरूको प्रवृति एउटै भएको प्रहरी निरीक्षक थापा बताउँछन् ।

साउनयता अहिलेसम्म १३ जना लुटिएका छन् । पछिल्लो समय दाङ हासीपुरका ३२ वर्षीय देवबहादुर आले लुटिए । उनी लुटिएको केही दिनमै गुल्मी पराल्मीका ४६ वर्षीय बलबहादुर रास्कोटीको १८ हजार भारु लुटियो गोरखपुरमा ।

दिल्लीबाट स्याङ्जा वालिंग ८ घर फर्किंदै गरेका ५४ वर्षीय धनबहादुर विश्वकर्माको १४ हजार भारु लुटिएको अर्को दिन कास्की लेखनाथ ८ का ४३ वर्षीय हेमबहादुर गुरुंगको १५ हजार भारु वनारसबाट आउँदै गर्दा संगै सिटमा बसेकाले लुटेर भागे ।

यसरी लुटिनेमा रुपन्देही देवदह ६ का वर्ष ४३ का दिलबहादुर थेरीमगर पनि छन् । उनको ६० हजार भारु लुटिएको छ । यस्तै प्युठान ऐरावति गाउँपालिका ४ का १८ वर्षीय अर्जुन बुढामगर पनि ४० हजार भारुसहित लुटिए ।

भारतमा वर्षभरी मजदुरी गरेर चाडपर्वको बेला परिवारसंग मिठो खाऊँला, रमाईलो गरौंला भनेर स्वदेश फर्किनेहरूलाई भारतमै साईनो लगाएर, आफन्त बनेर लुट्ने नेपालीहरू नै भएको प्रहरीको दाबी छ । अहिले दैनिक १५ सयको हाराहारीमा बेलहिया नाकाबाट नेपालीहरू घर फर्किरहेका छन् ।

बेखर्ची भएकाहरूका लागि प्रहरीले स्थानीयहरूको सहयोगमा नेपाल भारत सीमा क्षेत्र बेलहियामा सहायता कक्ष समेत स्थापना गरेको छ । बेखर्ची भएकाहरूलाई बस व्यवसायीलाई आग्रह गरेर गन्तब्यसम्म पुर्‍याउने समेत काम भएको छ ।

shares