Breaking News

दसैं नजिकिएसँगै भेडा च्याङग्राको ब्यापार सुरु

शिवलाल सुवेदी/गुल्मी, २४ असोज ।

नेपालीहरूको महान पर्व दसैं नजिकिंदै गर्दा गुल्मीमा भेडा च्याङग्राको बिक्री वितरण सुरु भएको छ । दशैं पर्वमा देवी देवताहरूका मठ मन्दिरहरूमा भेडा च्याङग्राको बली चढाउने प्रचलनलाई लक्षित गरी गुल्मीमा भेडा च्याङग्राको बिक्री वितरण केही दिनदेखि सुरु भएको हो ।

दसैं नजिक आउँदै गर्दा गुल्मीमा आसपासका जिल्लाबाट खसीबोका भित्रिन थालेका हुन् । छिमेकी जिल्लाहरू अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, रुकुम लगायतका स्थानबाट कृषकहरूले बिक्रीका लागि भेडा च्याङग्राका साथै खसीबोका गुल्मीमा ल्याउन थालेका छन् । खसीबोकाको कारोबार गरेर कतिपय परिवारले आफ्नो वर्ष भरिको गुजारा चलाउनुका साथै दसैंसमेत मान्ने गरेका छन् ।

गत हप्ता दाङको लमही नगरपालिका ५ विजौरीवाट भेडा बिक्रीका लागि गुल्मीको सदरमुकाम तम्घास आएको बताउने बाबुराम पाण्डेले यस वर्ष गुल्मीमा गत वर्षभन्दा बढी भेडा भित्रिनुका साथै किनबेच हुने बताए । उनका अनुसार आएको ५ दिन पुग्न नपाउँदै १० भन्दा बढी भेडा बिक्री भैसकेको छ । उनले बिक्री गर्न ल्याएको भेडाको ८ हजारदेखि १५ हजारसम्म पर्ने बताए ।

भेडा च्याङग्रा पाल्न धेरै दुख हुने तथा भेडा माग प्रत्येक वर्ष बढ्दै गएकाले हरेक वर्ष यसको मूल्य वृद्धि हुँदै गएको सदरमुकाम तम्घासमा मुस्ताङ्गबाट आएका अर्का ब्यापारी कृष्ण गुरुङ्गले बताए । उनले मुस्ताङसहित मुगु र केही मात्रमा तिव्बतबाट समेत भेडा –च्याङग्रा खरिद गरेर यस वर्ष २ हजार बढी भेडा च्याङग्रा पोखरा, स्याङजा,पाल्पा,वुटवल र गुल्मीमा बिक्री वितरण गर्न हिडेको बताए । उनका अनुसार १० हजार देखि २५ हजार मूल्य बराबरमा भेडा च्याङग्राको बिक्री भएको छ ।

‘यस वर्ष भेडा च्याङग्रा ल्याउँदा ठाँउ ठाँउमा कर तिर्नु पर्ने झन्झट भयो’, उनले भने ‘अघिल्लो वर्षभन्दा केही महङ्गोमा भेडा च्याङग्रा बिक्री गरेका छौं ।’ ७ जनाले सामुहिक भेडा च्याङग्रा खरिद गरेर आफू गुल्मी आएको उनले बताए । पोखरा क्षेत्रमा मात्रै दशैंको अवसरमा कम्तीमा पनि आफूहरूले वर्षेनी १ हजार बढी भेडा च्याङग्राको बिक्री गर्ने बताए ।

त्यसैगरी भेडा बिक्रीका लागि दाङ्गवाट आएका अर्का ब्यापारी महमद आजम कुरैसी दसैंमा मात्र १ लाखभन्दा बढी आम्दानी भेडाबाट हुने बताउँछन् । उनले वर्षभरि नै भेडा लगायत खसीबोकाको कारोवारवाट वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्ने बताए । दाङबाट मात्रै दशैमा गुल्मीमा ५ सयको हाराहारीमा भेडा आउने गर्दछन् ।

यता गुल्मीका उपभोक्ताहरुलाई शहुलियतमा भेडा च्याङग्रा उपलब्ध गराउने उद्धेश्यले जिल्ला समन्वय समितिले कर नउठाउने भएको छ । ‘नेपालीहरूको महान पर्वमा भेडा च्याङग्राहरू धेरै बाहिरी जिल्लाबाट भित्रिन्छन्’, जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले भने ‘भेडा च्याङग्रा ल्याउँदा कहीं कतै कुनै कर उठाउने निर्णय भएको छैन र उठाइँदैन ।’ उनले कसैले उठाएको पाएमा कारबाहीसमेत गरिने बताए ।

जिल्लाका विभिन्न ठाउँमा दसैंमा बढी भेडा च्याङ्ग्रा र बोका खपत हुने गरेको छ । हिमाली भेगमा बहुमुल्य जडिबुटी खाएर हुर्किएका भेडा च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले पनि भेडा च्याङग्राको खपत बढेको ब्यापारीहरू बताउँछन् ।

shares