Breaking News

स्थानीय निकाय सबैभन्दा धेरै भ्रष्टाचार हुने ठाउँ

प्रेम नेपाली/पोखरा, २४ असोज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले स्थानीय निकाय सबैभन्दा बढी भ्रष्टाचार हुने ठाउँ भएको बताएका छन् ।

पोखरा महानगरपालिकामा बुधबार अख्तियारको पोखरा भवनको शिलान्यास गर्दै प्रमुख आयुक्त घिमिरेले जनप्रतिनिधिले नेतृत्व गरेको निकायमा भएको भ्रष्टाचारले सिंगो लोकतन्त्रको छवि धमिल्याउने काम गरेको बताए । पहिला शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी पर्ने गरेकोमा अहिले स्थानीय निकाय अघि आएको जानकारी दिए ।

अख्तियारले सार्वजनिक निर्माणको क्षेत्र, बैकिङ्ग क्षेत्र, राष्ट्रिय गौरवका आयोजना, जनप्रतिनिधिले नेतृत्व गरेका निकायमा हुने भ्रष्टाचार टुलुटुलु हेरेर नबस्ने बताए । भ्रष्टाचारको नियन्त्रण बिना देशमा सुशासन र समृद्धि आउन नसक्ने बताउँदै घिमिरेले भ्रष्टाचारीहरूका विरुद्ध कडाइका साथ पेश हुन कर्मचारीहरूलाई निर्देशन दिए । मालपोत, नापी, यातायात कार्यालय पनि बढी भ्रष्टाचार हुने ठाउँ भएको बताउँदै घिमिरेले जनता आक्रोशित भएर उठ्ने अवस्था आए टोपी फुकालेर भाग्नुपर्ने भन्दै सचेत गराए ।

पोखरा महानगरपालिका ७ स्थित मासवारमा निर्माणाधीन भवन दुई वर्षभित्र पूरा गर्ने सम्झौता भएको अख्तियारले जनाएको छ । मुख्य कार्यालय भवन अढाई तले र प्रहरी भवन साढे तीन तलाको बन्नेछ । १४ करोड ७२ लाख इष्टिमेट गरिएको भवन सम्झौता १२ करोड ७८ हजार रहेको छ । शिलान्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

shares